Showing posts with label nagarik. Show all posts
Showing posts with label nagarik. Show all posts

Sunday, June 3, 2018

नेपाल–संवत्, शंखधर–संवत् वा राघवदेव–संवत् by प्रा. श्रीकृष्ण आचार्य

अक्टोबर २४, २००९ (कात्तिक ७, २०६६) मा नागरिक दैनिकमा प्रकाशित

नेपाल–संवत्, शंखधर–संवत् वा राघवदेव–संवत्

श्रीकृष्ण आचार्य

मानदेव–संवत् अर्थात् पुरानो नेपाल–संवत् को प्रचलन बन्द भई नेपाल–संवत्को प्रचलन किन आरम्भ भयो, यो  कुरा रहस्यको गर्भमै छ । जुन समयमा यस संवत् को  प्रचलन आरम्भ भएको थियो, त्यतिबेलाको  नेपालको इतिहास पूर्णतः अज्ञात छ ।  

पछि–पछि भने किन हो, यस संवत्सँग शंखधरको नाम पनि जोडिन थालेको पाइन्छ । “शंखधर” शब्द संस्कृत शब्द हो । यसको अर्थ  हुन्छ – शंख हातमा लिएका ।

नेपालको राष्ट्रिय–अभिलेखालयमा ताडपत्रमा संस्कृत भाषामा लेखिएको “सुमतितन्त्र” नामक ज्योतिष–शास्त्रविषयक एउटा प्राचीन ग्रन्थ छ । यस ग्रन्थमा “ ... राजा शूद्रकदेवश्च वर्ष सप्ताविब्ध चाश्विनौ । शकराजा ततोपश्चात् वसुरन्ध्रकृतन्तथा” अर्थात् “यहाँ (नेपालमा) २४७ वर्षसम्म राजा शूद्रकदेवले चलाएको  संवत् चल्दछ, त्यसपछि ४९८ वर्षसम्म शक राजाले चलाएको  संवत् चलेको थियो” भन्ने उल्लेख छ । साथै यसै  ग्रन्थमा अर्को एक ठाउँमा “शकराज्याब्द ४९८, मानदेवस्य राज्याब्द ३०४” अर्थात् “यहाँ ४९८ वर्षसम्म शक–राज्याब्द र त्यसपछि ३०४ सम्म मानदेवको राज्याब्द चल्दछ” उल्लेख छ । यसबाट मानदेव–संवत् को  प्रचलन बन्द भई शकवर्ष ४९८ (वि.सं. ६३३) को कार्तिक–शुक्लप्रतिपदादेखि नयाँ  संवत् को उठान भएको थियो भन्ने  प्रमाणित हुन आएको छ ।

मानदेव–संवत् अर्थात्  पुरानो  नेपाल–संवत् को  प्रचलन बन्द भई  नेपालमा वर्तमान नेपाल–संवत् को प्रचलन किन आरम्भ भयो, यो कुरा रहस्यको गर्भमै छ । जुन समयमा यस संवत् को  प्रचलन आरम्भ भएको थियो त्यतिबेलाको  नेपालको इतिहास पूर्णतः अज्ञात छ । शिलालेखहरु प्रसारित गर्ने  प्रचलन बन्द भई ताम्रपत्रहरु प्रसारित गर्ने प्रचलन सुरु भएकोले होला, तिनताकका कुनै शिलालेख उपलब्ध हुन सकिरहेका छैनन् । प्रसारित भएका ताम्रपत्र तमोटका आरनमा पुगी गालिइसकेकाले होला, तिनताकका ताम्रपत्र पनि सबै  नै नष्ट भैसकेका छन् । यसैले जानकारीका साधनको नितान्त अभावले त्यतिबेलाको विशेष विवरण पाउनु सम्भव भैरहेको छैन ।  

तिनैताक नेपालमा लिच्छवि–राजवंशको अन्त्य भई नयाँ राजवंशको उदय भएको थियो । नयाँ स्थापना भएको राजवंश “वैस–राजवंश” को नामले  प्रसिद्ध रहेको छ । वैसहरु मूलरुपमा वैश्य–वर्गका प्रतीत हुन्छन्, तर पछि छात्र–वृत्ति ग्रहण गरी यिनीहरु क्षत्रीय बनेका थिए । लिच्छवि–शासनको अन्त्य कसरी भयो र वैसहरु राजसत्तामा कसरी आए, यो पनि स्पष्टसँग खुल्न सकिरहेको  छैन । तर नयाँ राजवंशका संस्थापक राजा राघवदेव प्रतीत हुन्छन् । यिनले नै नयाँ राजवंश स्थापना गरेको उपलक्ष्यमा वर्तमान नेपाल–संवत् को  प्रचलन आरम्भ गराएको संकेत पाइन्छ । 

नेपालमा पाइएका वंशावलीमध्ये गोपाल–राजवंशावली सबैभन्दा पुरानो मानिन्छ । यस वंशावलीको एकथरि प्रतिमा पहिलेका राजाका विवरणहरु दिँदै जाँदा “राघवदेव वर्ष ६३ मास ६ पशुपतिभट्टारके  संवत्सर प्रवृत्तिकृता” अर्थात् “राजा राघवदेवको राज्यकाल ६३ वर्ष ६ महिना रहेको थियो, यिनले भगवान् पशुपतिको निमित्त नयाँ  संवत् को  प्रचलन आरम्भ गराएका थिए” भनी उल्लेख गरिएको पाइएको छ । गोपाल–राजवंशावली पुरानो  वंशावली भएकोले यसमा उल्लेख भएका कुरा प्रायः सबै  नै मिल्ने गरेका छन् । यसैले यस वंशावलीमा उल्लेख भएको उपर्युक्त भनाइलाई उपेक्षा गर्न सकिँदैन ।  


नयाँ प्रचलनमा ल्याइएको संवत्लाई आफ्नै नामबाट नामकरण गरिएमा सर्वसाधारण नागरिकले यसलाई सजिलै पचाउन नसक्ने सम्भावना भएकोले होला, राजा राघवदेवले आफूले  प्रचलनमा ल्याएको  संवत्लाई  प्रारम्भमा “पशुपतिभट्टारक–संवत्” भन्ने नाम दिएका थिए । लोकव्यवहारमा भने यस संवत्लाई “राघवदेव–संवत्” भनिने गरेको थियो । अझैसम्म पनि यस संवत्लाई यदाकदा “राघवदेव–संवत्” नै भनिने गरको पाइन्छ । औपचारिक रुपमा भने यस संवत्लाई केवल “संवत्” मात्र लेख्ने गरेको पाइएको छ । वर्तमान नेपाल–संवत्को आरम्भ शकसंवत् ८०१ को कार्तिकशुक्ल प्रतिपदा तदनुसार वि.सं. ९३६ को कात्तिक २२ गते (२० अक्टोबर इ.सं. ८८७) देखि भएको मानिन्छ । 

अघिल्लो पूरा एक–शताब्दीभर नै यस संवत्को प्रयोग भएको कुनै पनि लिखत आजसम्म पाउन सकिएको  छैन । यस संवत्को पहिलो  प्रयोग “संवत् १०९ मार्गशिर शुक्लदिवा पूर्णमास्याम्” को रुपमा भएको पाइएको छ । तिब्बतको स–सक्य बिहारमा रहेको राजा नरेन्द्रदेव तथा राजा उदयदेवको संयुक्त राज्यकालमा सारिएको “अष्टसाहस्रिका–प्रज्ञापारमिता” को  पुष्पिका–वाक्यमा उपर्युक्त वाक्यांशको सर्वप्रथम उल्लेख भएको पाइएको छ । यहा “संवत्” शब्दमा कुनै विशेषण लागेको छैन । 

यसपछिका – संवत् २८९ सम्मका – उपलब्ध रहेका कमसेकम २५ वटा हस्तलिखित ताडपत्रमा यस संवत्को निमित्त संस्कृत भाषामा – “संवत्”, “संवत्सर”, “वत्सर”, “अब्द”, तथा “गताब्द” शब्दमात्र प्रयोग भएका छन् । संवत् २९० मा राजा रुद्रदेवको राज्यकालमा सारिएको “शिवधर्मशास्त्र” नामक कृतिमा मात्र सर्वप्रथम यस संवत्को निमित्त – “नेपाल–वत्सर” शब्दको  प्रयोग भएको पाइएको छ । 

यसपछि भने यस संवत्को निमित्त संस्कृत भाषामा “संवत्”, “नेपाल–संवत्”, “नेपाल–वत्सर”, “नेपाल–संवत्सर”, “नेपालदेशीय–संवत्”, “नेपाल–हायन”, “नैपालिक–संवत्” शब्द प्रयोग भएका छन् । पछिल्लो मल्लकाल आरम्भ भएपछि भने यस संवत्को निमित्त “नेपाल–संवत्” को बदला प्रायः “श्रेयोस्तु संवत्” शब्द प्रयोग हुन थालेको पाइन्छ । यस प्रकार मल्लकालभर – जतिबेलासम्म यो संवत् राजकीय–संवत्को रुपमा प्रचलित रहेको थियो – शंखधरको  कुनै नामोनिसान पाइएको छैन । 

पछि–पछि भने किन हो, यस संवत्सँग शंखधरको नाम पनि जोडिन थालेको पाइन्छ । “शंखधर” शब्द संस्कृत शब्द हो । यसको अर्थ  हुन्छ – शंख हातमा लिएका ।

सनातनधर्मावलम्बी हिन्दुमात्रको मान्यताअनुसार राजा भगीरथले श्रापद्वारा भस्म भएका आप्mना पितृहरुको उद्धार गर्न कठोर तपस्या गरी गंगाजीलाई आकासबाट पृथ्वीलोकमा ल्याएका र शंख बजाउँदै बाटो  देखाएर सागरसम्म पु¥याएका थिए । यसैले  गंगाजीसँग राजा भगीरथको अन्योन्याश्रित सम्बन्ध रहँदै आएको मानिन्छ । ढुंगेधारालाई गंगाजीको प्रतीक मानेर पुराना प्रायः सबैजसो ढुंगेधारामा दुवै हातले शंखलाई समातेर बसेका राजा भगीरथका मूर्तिहरु राखिएका पाइन्छन् । भक्तजनलाई राजा भगीरथप्रति कृतज्ञता ज्ञापन गरी जल चढाउने प्रयोजनको निमित्त नै यस्ता मूर्ति राखिएका थिए । 

नेवार समाजको मान्यताअनुसार नेपाल भाषाको “साख्वा” लाई नै आजभोलि “शंखधर” भनिने गरको पाइन्छ । नेपालमा पछिल्लो एकथरि वंशावलीमा शंखधरसम्बन्धी निम्नाङ्कित भावको किंवदन्ती उल्लेख भएको पाइन्छ । 

राजा आनन्ददेवको राज्यकालमा भक्तपुर राज्यका एकजना ज्योतिषीले भनेछन्, “आउँदो फलानो दिन रातको यतिबेला शुभयोग परेको छ । त्यतिबेला मैले दिएको मन्त्रपाठ गर्दै कान्तिपुर राज्यभित्र पर्ने विष्णुमती नदीको लखुतीर्थबाट बालुवाहरु निकाली ल्याउन सकिएमा ती बालुवाहरु अवश्य पनि सुनमा परिणत हुनेछन् ।”

ज्योतिषीको यस भनाइमा विश्वस्त भई राजा आनन्ददेव मल्लले आफ्ना दुई भरियालाई तोकिएको समयमा कान्तिपुर राज्यको लखुतीर्थमा पठाइदिएका थिए । तोकिएको दिन तोकिएको समयमा विष्णुमती नदीको लखुतीर्थमा पुगेर ती दुई भरिया मन्त्रपाठ गर्दै बालुवा निकालिरहेका थिए । त्यतिबेला मध्यरात ढल्किसकेको थियो । यसैले विष्णुमती नदीमा नित्यस्नान गर्न जाने काठमाडौं मरुटोलका एकजना भक्तजन संयोगले त्यहीँ पुगेका थिए । यिनले अँध्यारोमा गुनगुनाइरहेका केही मानिसको आवाजलाई  सुनेर नजिकै गई  हेर्दा मन्त्र पाठ गर्दै खोलाबाट बालुवा निकालिरहेका दुई भरियालाई देखेर “किन यसरी रातको समयमा यहाँबाट बालुवा निकालेको ?” भनी सोधनी गरे । भरियाहरुले “आफूहरु राजा आनन्ददेव मल्लको आदेशअनुसार भक्तपुर राज्यबाट बालुवा लिन आएको” भनी भक्तजनलाई जानकारी दिए । 

यसबाट भक्तजनलाई “यसमा पक्कै पनि कुनै रहस्य लुकेको हुनुपर्छ, अन्यथा यिनीहरु किन यसरी रातको समयमा भक्तपुर सहरदेखि यतिटाढा बालुवा लिन आउँथे ?” भन्ने लाग्यो र यिनले ती भरियालाई “पहिलो  खेप बालुवा आफ्नो घरमा पु¥याइदिई त्यसपछि अर्को  खेपमात्र भक्तपुरमा राजा आनन्ददेव मल्लको निमित्त लगिदेऊ” भनी आग्रह गरे । यसको निमित्त ती दुई भरियालाई आकर्षक ज्याला दिने आश्वासन पनि दिइयो । यिनको यस आग्रहबाट प्रभावित भई ती दुई भरियाले रातमा – ठिक साइतको समयमा – निकालेका दुई भारी बालुवा रातैमा ती भक्तको घरमा पु-याइदिए । 


पछिल्लो खेप बालुवा बोकेर ती दुई भरिया भक्तपुर सहरतर्फ लागेका थिए । भक्तपुर नपुग्दै – बीचबाटोमै उज्यालो भयो । बालुवा बोकेर यिनीहरु उज्यालो भैसकेपछि मात्र भक्तपुर राज्यको राजभवनमा दाखिल भए । फलतः यहाँबाट लगेको बालुवा बालुवा नै रह्यो, सुनमा परिणत भएन । यसबाट ज्योतिषीको कुरा झुट्टा ठहरिन आयो । राजा आनन्ददेव मल्लले ज्योतिषीलाई अपमानपूर्वक दुत्कारे । यसबाट खिन्न भई ज्योतिषीले आफ्ना पुस्तक तथा पात्राहरु सबै जलाइदिए । 

यता, काठमाडौं सहरमा भक्तजनको घरमा पु-याइएको बालुवा भने ज्योतिषीले दिएको ठिक साइतमा निकालिएकोले भोलिपल्ट बिहानसम्ममा सुनमा परिणत भैसकेको थियो । राजा आनन्ददेव मल्लबाट अपमानपूर्वक दुत्कारिएका ज्योतिषी यसमा पक्कै पनि कुनै रहस्य हुनुपर्छ भनी बुझ्न भनी हिँडेका काठमाडौं सहरमा ती भक्तजनको घरमा दुईभारी बालुवा सुनमा परिणत भएको थाहा पाएर आफ्नो ज्योतिष–विद्यामा विश्वस्त भई तुरुन्त नै भक्तपुर राज्यमा फर्किई राजा आनन्ददेव मल्ललाई यस कुराको जानकारी गराए । यसबाट ज्योतिषीले व्यक्त गरेको भविष्यवाणी सत्य सावित भयो । भरियाहरु दण्डित भए । आफ्नो देशका राजालाई जानकारी गराई यसै  सुनबाट राज्यका सम्पूर्ण नागरिकका ऋण तिरिदिई यिनै भक्तजनले – जसको नाम साख्वा थियो – आफ्नो नामबाट शंखधर–संवत् को प्रचलन सुरु गराएका हुन् । 

उपर्युक्त अनुश्रुति निकै नै तिलस्मी तथा अतिरञ्जित पनि देखिन्छ । अहिलेको जमानामा बालुवा सुनमा परिणत भयो भन्ने उपर्युक्त अलौकिक अनुश्रुतिमाथि विश्वास गर्नु सहज छैन । सबैभन्दा महत्वपूर्ण कुरा त जतिबेला नेपालमा वर्तमान नेपाल–संवत्को  प्रचलन आरम्भ भएको थियो, त्यतिबेला नेपालमा मल्ल–राजवंशको अस्तित्व नै थिएन । नेपाल–संवत् आरम्भ भएको ३०० वर्षजति पछि मात्र नेपालमा पहिलो मल्ल–राजवंशको उत्थान भएको थियो । 

उपर्युक्त अनुश्रुतिमाथि विश्वास गर्ने हो भने लखुतीर्थमा रहेको बालुमामात्र सुनमा परिणत हुने अन्यत्रको भने परिणत हुन नसक्ने यो कस्तो योग हो ? यस्तो योग यसपछि फेरि किन पर्न सकेन ? बालुवा सुनमा परिणत हुने निश्चय भैसकेपछि धेरै भरिया नपठाएर किन दुई जनालाई मात्र पठाइयो ? भरियाले पाठ गर्ने मन्त्र कस्तो मन्त्र हो ? यस्ता अनेकौं प्रश्न उठ्न सक्छन् । 

जुन समयमा नेपालमा नयाँ  संवत्को  शुभारम्भ भएको थियो, तिनैताक यहाँ लिच्छविकालको अन्त्य भई वैसकालको आरम्भ भएको थियो । सामान्यतया कुनै युगान्तकारी घटना घटेपछि त्यस घटनाको सम्झनामा नयाँ  संवत्को  सुरुवात गराउने  प्रचलन चल्दै आएको पाइन्छ । लिच्छविकालको अन्त्य भई  वैसकालको आरम्भ भएको महत्वपूर्ण घटनाको सम्झनामा नै वर्तमान नेपाल–संवत्को प्रचलन आरम्भ भएको हुनसक्छ ।

Saturday, April 14, 2018

Shukrabar Weekly - 2072 Earthquake Coverage (1 May 2015, 18 Baisakh 2072)

Shukrabar Weekly
Nepal Republic Media

Page 1

Page 2

Page 3

Page 4

Page 5

Page 6

Page 7

Page 8

Page 9

Page 10

Page 11

Page 12-13 (Center Pages)

Page 14

Page 15

Page 16

Page 17

Page 18

Page 19

Page 20

Page 21

Page 22

Page 23

Page 24